न्यान्सी पलोसी ताइवान भ्रमणमाः अमेरिका-चीन कूटनीतिक तनावको केन्द्रमा रहेकी यी अमेरिकी नेत्री को हुन्

पलोसी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिकाको राजनीतिमा चर्चा नहुने लैङ्गिक अल्पसङ्ख्यकको अधिकारबारे पलोसीले वकालत गरिन्

अमेरिकी सभामुख न्यान्सी पलोसीको राजनीतिक यात्राबारे जानकार मानिसहरूका लागि उनको विवादास्पद ताइवान भ्रमण कुनै आश्चर्यको विषय नहुन सक्छ।

उनी अमेरिकाको तल्लो सदनकी सभामुख हुन्। आफ्नो ४० वर्षे सार्वजनिक सेवा अवधिमा उनले चीनप्रति प्रायः आलोचनात्मक धारणा राख्दै आएकी छन्।

सन् १९९१ मा अकस्मात् बेइजिङ पुगेर तियान्आन्मेन नरसंहारका पीडितको समर्थनमा ब्यानर देखाउँदा चिनियाँ अधिकारीहरू उनीसँग आक्रोशित भएका थिए।

चिनियाँ सुरक्षाकर्मीहरूले प्रजातन्त्रवादी प्रदर्शनकारीहरूमाथि दुई वर्षअघि आक्रमण गरेको स्थानमै उभिएर उनले त्यसो गरेकी थिइन्।

यस्ता केही घटनाक्रमले उनले चीनबारे राख्दै आएको अडानको सङ्केत गर्छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

पलोसी अहिले उनी ८२ वर्ष पुगेकी छन्।

उनी चीनको कम्युनिस्ट शासनकी खरो आलोचक हुन्।

चीनसँग उनको सम्बन्ध विवादास्पद रहनुमा निर्वासित तिब्बती नेता दलाइ लामासँग उनको नजिकको सम्बन्ध पनि हो।

अमेरिका र चीन दुवैलाई चिन्तित बनाउने भ्रमण

चीनले अल्पसङ्ख्यक उइगर र अन्य मुस्लिम समुदायमाथि गरेको दमनलाई गत वर्ष अमेरिकाले "नरसंहार" को सङ्ज्ञा दिएको थियो। उक्त दमनलाई औपचारिक रूपमा नरसंहार घोषणा गर्नुमा पलोसी एक मुख्य उत्प्रेरक थिइन्।

"व्यापारिक हितका कारण यदि तपाईँ चीनमा मानवाधिकारको स्थितिबारे कुरा उठाउन सक्नुहुन्न भने तपाईँसँग कुनै पनि ठाउँका बारेमा बोल्ने नैतिक अधिकार रहँदैन," पलोसीले समाचार वेबसाइट पलिटिकोलाई जुलाई २८ मा दिएको अन्तर्वार्तामा भनेकी छन्।

उनी सन् १९९७ पछि ताइवान भ्रमण गर्ने वरिष्ठतम अमेरिकी अधिकारी हुन्।

उनको भ्रमणले केवल बेइजिङलाई विचलित मात्रै बनाएको हैन उनको देशमा पनि चिन्ता बढाएको छ।

पलोसी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पलोसीको ताइवान भ्रमण गर्ने योजनाप्रति अमेरिकी राष्ट्रपति बाइडन आलोचनात्मक देखिएका थिए

त्यस्तो भ्रमण "उपयुक्त नहुने" धारणा अमेरिकी सेनाको भएको अमेरिकी राष्ट्रपति जो बाइडनले जुलाई २२ मा बताएका थिए।

उनको भ्रमणलाई बेइजिङले उत्तेजना बढाउने कदमको रूपमा बुझ्ने चिन्ताबारे राष्ट्रपति बाइडन सचेत देखिएका थिए।

सार्वजनिक रूपमा भ्रमण पक्का नगरेको भए पनि पलोसीले त्यसबारे प्रतिक्रिया दिइहालिन्।

"मेरो विचारमा अहिले ताइवानप्रति हामीले समर्थन देखाउनु महत्त्वपूर्ण छ," उनले भनिन्।

Map

राजनीतिक जीवन

सन् १९४० मा जन्मिएकी पलोसी अमेरिकाको बाल्टिमोरका पूर्वनगरप्रमुख थोमस दा'लेसान्द्रोकी छोरी हुन्। उनी १२ वर्षको उमेरमै डेमोक्र्याटिक पार्टीको सम्मेलनमा भाग लिएकी थिइन्।

उनले २० वर्षको हुँदा अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको पदबहाली सभामा सहभागी हुने अवसर पाइन्।

राजनीतिमा उनको प्रारम्भिक संलग्नता नेपथ्यमा सीमित थियो। उनले क्यालिफोर्निया राज्यमा डेमोक्र्याटिक पार्टीको निर्वाचन अभियान चलाउने र आर्थिक सहयोग जुटाउने काम गरिन्।

पलोसी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पलोसी सन् १९८७ मा सांसद निर्वाचित भइन्

उनका पति पल पलोसी वित्त व्यवस्थापक थिए। पाँच सन्तानमध्ये कान्छी छोरी विश्वविद्यालय पढ्ने भएपछि मात्रै उनी ४७ वर्षको उमेरमा सांसदका लागि उम्मेदवार बनिन्।

सान फ्रान्सिस्कोकी सांसद साला वर्टनले आफ्नो निधनअघि उत्तराधिकारी बन्न आग्रह गरेपछि पलोसी संसद्को चुनावमा उठेकी थिइन्।

पलोसीले सन् १९८७ मा चुनाव जितिन् र त्यसयता अमेरिकी कङ्ग्रेसमा सन फ्रान्सिस्कोका क्षेत्रहरूबाट प्रतिनिधित्व गर्दै आएकी छन्।

प्रथम महिला सभामुख

संसद्‌को सभामुखमा उनको यो तेस्रो कार्यकाल हो। यो भूमिका अमेरिकामा राष्ट्रपति र उपराष्ट्रपतिपछि तेस्रो वरीयतामा पर्छ। पलोसी अमेरिकाको सभामुख बन्ने प्रथम महिला हुन्।

तर उनको राजनीतिक जीवनयात्रामा चीनको विषय मात्र हाबी छैन।

उनले सन् २००३ को इराक युद्धको सार्वजनिक आलोचना गरिन्। सन् १९८० र ९० को दशकमा उनले लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका पक्षमा आवाज उठाइन्। त्यतिबेला अमेरिकामा ती विषयहरू मूलधारको राजनीतिबाट धेरै टाढा थिए।

पलोसी

तस्बिर स्रोत, Reuters

महिलाहरूले गर्भपतन गर्न पाउने अधिकार कटौती गर्ने गत जुनको अमेरिकी सर्वोच्च अदालतको निर्णयको पनि उनी आलोचक थिइन्।

"आज अमेरिकीहरूले उनीहरूका आमाहरूभन्दा कम स्वतन्त्रता पाएका छन्," उनले अदालतको घोषणापछि भनेकी थिइन्।

"यो निर्णय गालामा थप्पड हो।"

तर उनको राजनीतिक यात्रा चिनियाँ कम्युनिस्ट शासकहरूको विरोधको पर्यायजस्तै बनेको छ। अहिलेको उनको ताइवान भ्रमणले त्यो धारणालाई अझ बलियो बनाएको छ।

यो पनि हेर्नुहोस्