म्यान्मार: चार जना प्रजातन्त्रवादीलाई मृत्युदण्ड दिने शासक को हुन्?

म्यान्मार

तस्बिर स्रोत, Reuters

म्यान्मारको नेतृत्वमा रहेका सैन्य नेताहरूले चार प्रजातन्त्रवादी अभियानकर्मीलाई "आतङ्ककारी गतिविधि"को आरोप लगाउँदै मृत्युदण्ड दिएको छ।

संयुक्त राष्ट्रसङ्घले ती मृत्युदण्डहरू खराब मनसायबाट प्रेरित भन्दै त्यसको निन्दा गरेको छ।

सन् २०२१ मा सत्ता हत्याएपछि विपक्षीहरूलाई दबाउनमा त्यहाँको सत्ताले चालेको यो पछिल्लो उपाय हो।

देशलाई कसले चलाइरहेका छन्?

जेनरल मिन ओङ ह्लाइङ सेनाका प्रमुख हुन्।

उनी र जुन्ता भनिने सैनिक नेताहरूको समूहले निर्वाचित नागरिक सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएका थिए।

उनले आपत्काल घोषणा गर्दै भविष्यमा "स्वतन्त्र र निष्पक्ष" चुनावको वाचा गरेका थिए।

त्यसयता जेनरल ह्लाइङले सेनाले गरेको भनिएको मानव अधिकारको दमन र जातीय अल्पसङ्ख्यकप्रति हमलाका लागि भन्दै अन्तर्राष्ट्रिय निन्दा र आर्थिक प्रतिबन्धहरू खेपिरहेका छन्।

जेनरल मिन ओङ ह्लाइङ सेनाका प्रमुख हुन्।

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, जेनरल मिन ओङ ह्लाइङ सेनाका प्रमुख हुन्

द असिस्टेन्ट अफ पोलिटिकल प्रीजनर्स एएपीपी भनिने एउटा मानव अधिकार समूहले सैन्य सत्ताको सुरक्षा फौजले कूयता २,१०० भन्दा धेरैको हत्या गरेको जनाएको छ।

जुन्ताले आङ सान सू चीमाथि पनि कैयौँ आरोप लगाएर मुद्दा दायर गरेको छ।

मृत्युदण्ड दिइएका को-को हुन्?

गोप्य सुनुवाइपछि चार पुरुष अभियानकर्मीलाई मृत्युदण्ड दिइएको थियो।

उनीहरूलाई म्यान्मारको सेनासँग लड्न विद्रोहीहरूलाई सघाएको आरोप लगाइएको छ।

मृत्युदण्ड पाउनेमध्ये प्रजातन्त्र अभियानकर्मी को जिम्मी र पूर्वसांसद तथा हिपहप कलाकार फ्यो जेया थअ छन्।

प्रजातन्त्र अभियानकर्मी को जिम्मी मृत्युदण्ड पाउने चार जनामध्ये एक हुन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, प्रजातन्त्र अभियानकर्मी को जिम्मी मृत्युदण्ड पाउने चार जनामध्ये एक हुन्

एमनेस्टी इन्टर्न्याश्नलले त्यसलाई "म्यान्मारको बर्बर मानवअधिकार अवस्थाको अर्को उदाहरण" बताएको छ।

उक्त संस्थाले त्यस्तै प्रकृतिको आरोप खेपेका अन्य १०० मानिसहरू समेत त्यहाँ मृत्युदण्ड पर्खिरहेको जनाएको छ।

अरूलाई के भइरहेको छ?

गत वर्षको कूपछि विपक्षी अभियानकर्मीहरूले नागरिक अवज्ञाका लागि अभियान सीडीएम गठन गर्दै ठूला प्रदर्शन र हडताल गर्दै आएका छन्।

सेनाले त्यसमा गोली, पानीका फोहोरा र रबरका गोली हान्ने गरेको छ।

आफूलाई पिपल्स डिभेन्स फोर्स पीडीएफ बताउने स्थानीय लडाकुहरूले सैनिक गाडीका लस्करमा हमला र अधिकारीहरूको हत्या गर्ने गरेका छन्।

सरकारले हिंसक रूपमा प्रतिशोध साँध्ने गरेको छ।

सगाईँ जिल्लामा ४० जना सर्वसाधारणलाई यातना र हत्या गरिएको थियो।

आङ सान सू चीलाई किन जेल हालिएको छ?

सू ची प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको सन् १९९० को दशकको अभियानका कारण विश्वभर प्रसिद्धि कमाएकी थिइन्।

उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो।

सन् २०१५ मा न्याश्नल लीग फर डेमोक्रेसीको नेतृत्व गर्दै उनले म्यान्मारमा २५ वर्षपछि खुला रूपमा भएको पहिलो निर्वाचनमा उक्त दललाई जिताएकी थिइन्।

यद्यपि सैन्य सत्ताले सन् २०२१ को फेब्रुअरीमा सत्ताच्युत गर्दै उनलाई घरमै नजरबन्दमा राखेको थियो।

आङ सान सू चीलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो।

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, आङ सान सू चीलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो

जेनरलहरूले विपक्षी दललाई सघाएका थिए जसले व्यापक धाँधली भएको भन्दै पुनर्निर्वाचनको माग गरेको थियो।

यद्यपि निर्वाचन आयोगले त्यस्ता दाबीलाई सघाउने कुनै प्रमाण नभएको जनाएको थियो।

सन् २०२२ को एप्रिलमा ७६ वर्षीय सू चीलाई एउटा गोप्य सुनुवाइमाझ पाँच वर्षको जेल सजाय सुनाइयो।

उनले देशको गोप्य सरकारी सूचना चुहाएको, गैरकानुनी रूपमा वाकीटकी राखेको र 'त्रास फैलाउने गरी' सूचना प्रकाशित गरेको भन्दै छ वर्षको सजाय पाइसकेकी थिइन्।

उनले अझै अन्य १० भ्रष्टाचारसम्बन्धी अभियोगहरू सामना गरिरहेकी छन् जुन प्रत्येकमा अधिकतम १५ वर्षको जेल सजाय हुनसक्छ।

अन्तर्राष्ट्रिय समुदायले के गरिरहेको छ?

संयुक्त राष्ट्रसङ्घले म्यान्मारमा मानवीय सङ्कट गहिरिइरहेको भन्दै चेतावनी दिएको छ।

उसले त्यहाँ "हिंसा तीव्र बनेको र गरिबी उच्च दरमा बढेको" जनाएको छ।

अमेरिका, यूके र युरोपेली सङ्घले सैन्य अधिकारीहरूमाथि प्रतिबन्धहरू लगाएका छन्।

म्यान्मार कहाँ छ?

यसअघि वर्माका रूपमा चिनिने म्यान्मार दक्षिणपूर्वी एशियामा पर्छ।

उसका छिमेकी देशहरूमा थाइल्यान्ड, लाओस्, बङ्गलादेश, चीन र भारत छन्।

झन्डै ५ करोड ४० लाख जनसङ्ख्या भएको उक्त देशमा धेरैजसो बर्मेलीभाषी छन्।

म्यान्मार नक्सा

सबैभन्दा ठूलो सहर याङ्गुन भए तापनि राजधानी भने नेपिड्अ हो।

Short presentational transparent line

म्यान्मार ब्रिटेनबाट सन् १९४८ मा स्वतन्त्र भएको हो।

सन् १९६२ देखि २०११ बीचमा त्यहाँ सेनाले शासन गर्‍यो।

सन् २०११ यता नयाँ सरकारले नागरिक शासन फिर्ता गर्ने गरी काम थालेको थियो।

सैन्य शासकहरूले सन् १९८९ मा वर्माको नाम फेरेर म्यान्मार बनाएपछि पछिल्लो नाम व्यापक रूपमा प्रयोग हुन थाल्यो।

त्यहाँको मुख्य धर्म बौद्ध हो।

म्यान्मारमा रोहिँन्ज्या मुस्लिमहरू सहित धेरै जातीय समूह छन्।

सन् २०१७ मा सेनाले गरेको कारबाहीपछि हजारौँ रोहिँन्ज्याहरू मारिनुका साथै सात लाखभन्दा धेरै देश छाडेर बङ्गलादेश पुगेका थिए।