मङ्कीपक्स नेपालः सङ्क्रमणको आशङ्कामा भर्ना गरिएका युवकको अवस्थाबारे प्रारम्भिक रिपोर्ट के छ

डाबर

तस्बिर स्रोत, Getty Images

मङ्कीपक्स भएको आशङ्कामा काठमाण्डूको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पठाइएका नेपाली युवकलाई शुक्रवार परीक्षण गरिएको अधिकारीहरूले बताएका छन्।

दुबईबाट बिहीवार स्वदेश फर्केका २६ वर्षीय युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित हेल्थ डेस्कले त्यहाँबाट उक्त अस्पताल पठाएको थियो।

निगरानीमा राख्न, अनुसन्धान गर्न र एकान्तवासमा राख्न भन्दै बिहीवार नै उनलाई भर्ना गरिएको अस्पतालका अधिकारीहरूले बताएका छन्।

विभिन्न देशमा पत्ता लागिसके पनि नेपालमा अहिलेसम्म मङ्कीपक्सका कुनै बिरामी फेला नपरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

नेपाली युवक फर्केका देश युएईमा चाहिँ मङ्कीपक्स पुष्टि भइसकेको छ।

अहिलेसम्म के के गरियो?

"वीर अस्पताल, पाटन अस्पताल, [स्वास्थ्य सेवा] विभाग र हाम्रै अस्पतालका छालारोग विशेषज्ञहरूको टोली आज त्यसबारे विमर्श गरेको छ," अस्पतालकी निर्देशक डा. मनिषा रावलले बीबीसीसँग भनिन्।

"त्यस्तो हुनुको सम्भावित कारणबारे उहाँहरूले इभ्यालुएशन गर्नुभएको हो।"

"मङ्कीपक्सलाई पनि ध्यानमा राखेर हेरिरहेका छौँ। विभिन्न सम्भावनामाथि हामीले हाम्रै प्रयोगशालामा पनि परीक्षण गर्दैछौँ," उनले थपिन्।

भर्ना गरिएका युवक शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालकै छालारोग विशेषज्ञहरूको 'निरन्तर निगरानीमा रहेको' डा. रावलले जनाइन्।