कोभिड नेपाल: सङ्क्रमणको तेस्रो लहर शिथिल, जोखिम चाहिँ कायम

तस्बिर स्रोत, Getty Images
नेपालमा कोभिड-१९ को तेस्रो लहर ओरालो लागेको सङ्क्रामक विज्ञहरूले बताएका छन्।
सङ्क्रमणदर र मृत्युदर घट्दो भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले पुष्टि गर्छ।
सङ्क्रमणपछि स्वास्थ्यमा समस्या भएकाहरूको सङ्ख्या कम हुँदै गएको सङ्क्रामक रोग विज्ञ डा. जनक कोइरालाले बताए।
डा. कोइरालाले भने, "काठमाण्डूभन्दा उपत्यकामा भन्दा बाहिर धेरै सङ्क्रमित देखिन्छन्। कुनै ठाउँमा घट्ने र कतै बढ्ने त भइरहन्छ। तर देशभरको सङ्क्रमण दर घट्नु सुखद हो। नयाँ भेरिअन्ट नआउँदासम्मलाई यो लहर घटेकै मान्नु पर्छ।"
सङ्क्रमण दर घट्दो भए पनि सङ्क्रमणको जोखिम र त्यसले पार्ने असरहरू कायम रहने जनस्वास्थ्यविद्हरू बताउँछन्।
शुक्रवार सङ्क्रमण दर झन् घट्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार नेपालमा पछिल्लो २४ घण्टामा १,१२८ जनामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको जनाएको छ।
उक्त अवधिमा २०,९८९ वटा नमुना परीक्षण गरिएका थिए।
केही दिनदेखि निरन्तर ओरालो लागिरहेको सङ्क्रमण दर शुक्रवार ५.४ प्रतिशत रहेको छ।
यो अवधिमा २,२१५ जना निको भएका छन् भने सक्रिय सङ्क्रमितहरूको सङ्ख्या २७ हजारभन्दा बढी छ।
पछिल्लो २४ घण्टामा थप १४ जनाको कोभिड-१९ ले गर्दा निधन भएको छ।
अस्पताल भर्ना कम
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सङ्क्रमणपछि भर्ना हुनेको सङ्ख्या न्यून रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जानकारी दिए।
केही दिनयता अस्पतालमा दैनिक भर्ना हुनेको सङ्ख्या एकदेखि दुई जनामा सीमित रहेको उनले बताए।
"यस साताको सुरुवातदेखि नै सङ्क्रमित साथै बिरामीको सङ्ख्यामा कमी आएको छ," गौतमले भने।
बिहीवारको तथ्याङ्कमा देशभरि ९९१ जना सङ्क्रमित अस्पतालमा उपचाररत रहेका थिए। जुन सक्रिय सङ्क्रमितको चार प्रतिशतभन्दा कम हो।
Nepal_daily_covid_Cases
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिड-१९ सङ्क्रमित बिरामी सङ्ख्या १० रहेको छ जसमध्ये एक जना सघन उपचार कक्षमा छन्।
तेस्रो लहर चलिरहँदा सर्वाधिक बिरामी भर्ना भएको दिन २२ जना भर्ना भएको गौतमले बताए।
ओमिक्रोनको लहर
नेपालमा तेस्रो लहरमा धेरै मानिसहरू ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमित भएका थिए। यसको डेल्टा भेरिअन्टलाई ८८ प्रतिशत प्रतिस्थापन गरेको विज्ञहरू बताउँछन्।
माघ २४ गते जीन सिक्वेन्सिङका लागि भारत पठाइएको ९५ वटा नमुनामध्ये सबैमा ओमिक्रोन पुष्टि भएको थियो। त्यसमध्ये ७८ वटामा ओमिक्रोनको बीए.टु पुष्टि भएको मन्त्रालयले बताएको थियो।
ओमिक्रोन भेरिअन्टका कोरोनाभाइरसका अरू भेरिअन्टभन्दा द्रुत गतिमा फैलने गरेको बताउने गरिन्छ।

तस्बिर स्रोत, Getty Images
"तेस्रो लहरमा ओमिक्रोन भाइरसको फरक प्रजातिहरू एकसाथ फैलियो। ठीकै भयो। नत्र नयाँ लहर देखिन सक्थ्यो," डा. कोइरालाले बताए।
ओमिक्रोन प्रजातिको बिए.वान उपप्रजाति सङ्क्रमितलाई बिए.टू सङ्क्रमण हुन्छ या हुँदैन भन्ने यकिन नभएको विज्ञहरू बताउँछन्।
सङ्क्रामक रोग विज्ञ डा. शेरबहादुर पुन भने सबै सङ्क्रमित परीक्षणको दायरामा नपरेकाले तथ्याङ्कलाई अन्तिम मान्न नहुने तर्क राख्छन्।
यद्यपि सङ्क्रमणको तेस्रो लहर "शिथिल बनेको" उनको तर्क छ।
सङ्क्रमण दर उत्कर्षमा पुगेर घट्दै गर्दा विद्यालय र सिनेमा घर साथै अन्य व्यापारिक क्षेत्रहरू खुल्न थालेका छन्।
सतर्कता कायम राख्नु पर्छ
डा. पुन धेरै मानिस सङ्क्रमित भइसकेकाले सङ्क्रमण नियन्त्रणका लागि लगाइएका प्रतिबन्धहरू खुला गर्नु सान्दर्भिक मान्छन्।
"तर व्यवस्थापन र सावधानीको पाटोमा सतर्क चाहिँ रहनु पर्छ। विशेगषरी खोप नलगाएकाहरू, दीर्घरोगी र वृद्धवृद्धाले सावधानी अपनाउनु पर्छ," उनले भने।
कम मानिसलाई सङ्क्रमण हुँदा आम मानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने प्रवृत्तिबारे चिकित्सकहरूले चिन्ता व्यक्त गरे।

तस्बिर स्रोत, RSS
फेरि कस्ता समस्या देखिन सक्छन्?
धेरै जनामा सङ्क्रमण भएकाले मानिसमा कोरोनाभाइरसको एन्टिबडी विकास भए पनि सावधानी नअपनाउँदा सङ्क्रमण घट्ने क्रम प्रभावित हुन सक्ने डा. कोइराला बताउँछन्।
"एक ठाउँमा सङ्क्रमण घटे पनि मापदण्ड पालना नगर्दा अर्को नयाँ ठाउँमा सङ्क्रमणको जोखिम बढ्छ। त्यसैले समग्र देशको सङ्क्रमण दर घट्ने क्रममा बाधा पुर्याउँछ। यो पूर्ण रूपमा चाहिँ जाँदैन," उनले भने।
त्यस्तै नयाँ भेरिअन्ट देखिन सक्ने सम्भावनातर्फ पनि विज्ञहरूले इङ्गित गरे।
सङ्क्रमण धेरै फैलिएको ठाउँमा भाइरस उत्परिवर्तनको सम्भावना बढी हुने डा. कोइरालाको तर्क छ। नयाँ स्वरूपको भाइरसलाई शरीरको प्रतिरक्षा प्रणालीले पहिचान गर्न सक्दैन।
"खोप लगाए पनि नयाँ भेरिअन्टको सङ्क्रमणपछि प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। त्यसैले नियन्त्रण गरिएन भने भाइरसको उत्परिवर्तन र त्यसको असर झनै कडा बन्न सक्छ," उनले भने।
कोरोनाभाइरसको सङ्क्रमण मानिसमा मात्र नभई जनावरमा पनि देखिएको छ। त्यसैले यस भाइरस इन्फ्लुएन्जा कुखुरा सुँगुर र चरामा भएजस्तै विभिन्न जनावर वा मानिसमा रहन सक्ने डा. कोइराला बताउँछन्।
"नयाँ भेरिअन्टले कुनै समय ठूलो प्रकोप ल्याउन सक्ने सम्भावना रहन्छ। त्यसैले यसलाई जनस्वास्थ्य र विश्व स्वास्थ्य सङ्गठनले निरन्तर निगरानी गर्नु पर्छ।"
डा. पुन भने भाइरसको स्वरूप परिवर्तन भइराखे पनि सम्भावित उत्परिवर्तनहरू कडा नभई कमजोर बन्दै जाने अनुमान गर्छन्।
"ओमिक्रोन नै कोरोनाभाइरसको अन्तिम स्वरूप हो भन्न सकिँदैन किनकि यसमा उत्परिवर्तन हुने क्षमता छ। तर यसका आगामी भेरिअन्टले ज्यान नै लिने अवस्था नआउँला," उनले भने।

तस्बिर स्रोत, Reuters
खोपलाई निरन्तरता आवश्यक
डा. पुन खोपको प्रभावकारिता र आवश्यकता माथि समेत जोड दिन्छन्।
डा. जनक कोइरालाको पनि समान धारणा छ। उनले कोरोनाभाइरसविरुद्ध बनेका खोपको तीन मात्रा झनै प्रभावकारी हुने बताए।
तर समय क्रममा नयाँ भेरिअन्ट देखिएको अवस्थामा हालसम्म बनेका खोप कति उपयुक्त हुन्छन् भन्ने निश्चित नभएको उनले जिकिर गरे।
"मानिसमा एन्टिबडी घटेर अपर्याप्त भएपछि फेरि खोप लगाउनु पर्ने हुनसक्छ। हरेक वर्ष वा नयाँ भेरिअन्ट आए पछि मात्र लगाउन पर्ने पनि हुन सक्छ।"
उनका अनुसार खोपले प्राकृतिक सङ्क्रमणले भन्दा बढी प्रतिरोधात्मक क्षमताको विकास गर्छ।
उनले यस लहरमा सङ्क्रमित भएकाहरूले सङ्क्रमणमुक्त भएको ३० दिन पछि खोप लगाउनु उचित हुने बताए।