कोभिड नेपाल: ३१ सय भन्दा बढी नयाँ सङ्क्रमित थपिए, १४ जनाको मृत्यु

बैतडीमा खोप

तस्बिर स्रोत, RSS

नेपालमा विगत २४ घण्टामा थप ३,१७५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार जनाएको छ।

सो अवधिमा ८,७२३ जना सङ्क्रमणमुक्त भएको बुधवारको तथ्याङ्कले देखाएको छ।

बिहीवार थप १४ जनाको कोभिडका कारण मृत्यु भएको तथ्याङ्क छ।

अहिलेको वृद्धिसँगै देशभरि पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ६३,२९६ रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

केही दिनअघि देशभरि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको थियो।

दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटेको तथा पहिला फेला परेका सङ्क्रमित निको हुने क्रम बढेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको हो।

कहाँ बढे सङ्क्रमित?

मन्त्रालयले प्रकाशित गरेको विवरणअनुसार अहिले काठमाण्डू उपत्यकाका तीन जिल्लामा १,५०९ थप सङ्क्रमित फेला परेका छन्। अरू सङ्क्रमित विभिन्न जिल्लमा भेटिएका हुन्।

तीमध्ये १,२४९ काठमाण्डू जिल्लाका, ७७ भक्तपुर जिल्ला र १८३ ललितपुर जिल्लाका हुन्।

हाल काठमाण्डू उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३५,७४८ छ।

विज्ञहरूका अनुसार नेपालमा अहिले अतिसङ्क्रामक ओमिक्रोन भेरिअन्टका कारण सङ्क्रमण फैलिएको हो।

चाँडै फैलिने भए पनि अधिकांश सङ्क्रमित व्यक्तिमा मध्यम खालका लक्षण देखिने गरेका छन्।

Nepal_daily_covid_Cases

के छ अरू तथ्याङ्क?

विगत २४ घण्टामा १०,०२६ पीसीआर र २,५७९ एन्टिजन विधिबाट गरी कुल १२,६०५ वटा परीक्षण भएका थिए।

तीमध्ये पीसीआर गरिएका २७.३४ र एन्टिजन विधिबाट गरिएका १६.७८ प्रतिशत नमुनामा सङ्क्रमण देखिएको हो।

उक्त अवधिमा ८,७२३ जना सङ्क्रमितहरू निको भएका छन्।

हाल १५ वटा जिल्लामा पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमितहरू देखिएका छन्।

साथै २० वटा जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० भन्दा माथि छ।