म्यान्मार कू: हिरासतमा यातना र दुर्व्यवहार भोगेका महिलाको कथा

म्यान्मारमा हिरासतमा रहेका महिलाहरू यातना, यौन उत्पीडन र बलात्कारको धम्कीको सिकार भएको विवरण बीबीसीले प्राप्त गरेको छ।
त्यहाँको सेनाले गरेको कूविरुद्ध प्रदर्शनमा सहभागी पाँच जना महिलाहरूले गिरफ्तारीपछि आफूहरूमाथि यौन दुर्व्यवहार भएको र यातना दिइएको बताएका छन्।
सुरक्षाका लागि यो समाचारमा उनीहरूको नाम परिवर्तन गरिएको छ।
गत फेब्रुअरीमा त्यहाँको सेनाले सत्ता कब्जा गरेपछि देशभर प्रदर्शनहरू भएका थिए।
महिलाहरूले म्यान्मारमा सैनिक सरकारको प्रतिरोधी आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
मानवअधिकारवादी समूहले त्यहाँको सेनाले बेपत्ता बनाउने र यातना दिने जस्ता उपायहरू विगतमा प्रयोग गरिरहे पनि हिंसा अझै व्यापक भएको बताएका छन्।
एक गैरनाफामुखी मानवअधिकारसम्बन्धी संस्थाका अनुसार डिसेम्बर ८ सम्म १,३१८ जना नागरिकहरू पक्राउ परेका छन्।
प्रजातन्त्र पक्षधर आन्दोलनमा पक्राउ पर्नेमा ९३ जना महिला छन्।
हिरासतमा मृत्युवरण गरेका आठ जना महिलामध्ये चार जनालाई सोधपुछ केन्द्रमा यातना दिएर मारिएको थियो।
आन्दोलनका क्रममा १०,२०० भन्दा बढी व्यक्तिहरूलाई पक्राउ गरिएको र त्यसमा दुई हजारभन्दा बढी महिलाहरू रहेको बताइएको छ।
छ महिनाभन्दा लामो समय हिरासतमा बिताएकी प्रजातन्त्र अभियानकर्मी इन सोय मेले सुरुका १० दिनमा त्यहाँको एक सोधपुछ केन्द्रमा आफूलाई राखिएको र यौन उत्पीडनका साथै यातना दिएको आरोप लगाएकी छन्।

आन्दोलनको लागि प्लेकार्ड बनाउँदै गर्दा आफूलाई एक दिन बिहानै पक्राउ गरिएको र भ्यानको पछाडि कोचेर लगिएको उनले बताइन्।
राति सोधपुछ केन्द्रमा लगिएकी उनलाई आँखामा पट्टी बाँधेर विभिन्न अस्वाभाविक वस्तुहरू छुन बाध्य बनाइएको थियो।
सोधिएका प्रश्नको चित्तबुझ्दो उत्तर नदिँदा बाँसको लट्ठीले हानेर यातना दिइएको उनले बताएकी छन्।
बयानका क्रममा उनलाई आफ्नो यौन जीवनको विवरणहरू खुलाउन बारम्बार दबाव दिइएको थियो।
एक जना प्रश्नकर्ताले "यहाँ आइपुगेका महिलालाई हामीले के गर्छौँ थाहा छ? हामीले उनीहरूलाई बलात्कार गरेर मार्छौँ" भनेर धम्की दिएको मे सम्झन्छिन्।
उनले आँखामा पट्टी बाँधेर आफूले लगाएको बाहिरी वस्त्र उतारिएको र उनीहरूले आफूलाई अनावश्यक रूपमा नङ्ग्याउन खोजेको आरोप लगाएकी छन्।
आँखामा लगाइएको पट्टी खोलिँदा उनले एक सुरक्षाकर्मीले पेस्तोलबाट गोली निकालिरहेको देखिन्।
एउटा गोली आफ्ना सम्पर्क विवरणहरू दिन अस्वीकार गरेपछि उनको मुखभित्र जबरजस्ती कोचिएको मेको आरोप छ।

अस्थायी हिरासतहरू
ह्युमन राइट्स वाचकी म्यान्मार अनुसन्धानकर्ता म्यानी मङका अनुसार अस्थायी होल्डिङ सेन्टर, सैन्य ब्यारेकको कोठा वा प्रयोगविहीन सार्वजनिक भवनहरूमा सोधपुछ केन्द्रहरू बनाइएको छ।
आफ्नो सुरक्षाको लागि नाम खुलाउन अस्वीकार गरेका म्यान्मारका अर्का एक वकिलले पनि यो कुरा बीबीसीसँग पुष्टि गरिन्।
उनका अनुसार आफूले प्रतिनिधित्व गरेका धेरै जना ग्राहकहरूले सोधपुछका क्रममा यातना र यौन दुर्व्यवहार खेपेको बताएका थिए।
अर्कै मान्छे ठानेर पक्राउ गरेका अर्का एक ग्राहकलाई आफू सम्बन्धित व्यक्ति होइन भनेर दाबी गरे पनि फलामको रडले नली खुट्टामा थिचेर बेहोस हुँदासम्म यातना दिइएको थियो।
"त्यसपछि उनलाई अर्को एउटा सोधपुछ केन्द्रमा पठाइएको थियो जहाँ एक जना पुरुष गार्डले आफूसँग सुत्न तयार भए उनलाई रिहा गरिदिन्छु भनेको आरोप लगाएकी छन्," ती वकिलले भनिन्।
म्यान्मारको अपारदर्शी कानुनी प्रणालीका कारण धेरै जना सरकारी वकिलहरू निरीह हुनुपरेको उनको गुनासो छ।

"हामीले कहिलेकाहीँ पक्राउलाई चुनौती दिए पनि हामीलाई प्रक्रियाहरू कानुनसम्मत छन्, सोधपुछका लागि आदेश दिएको छ भनेर टार्ने गरिएको छ," उनी सुनाउँछिन्।
सोय मेको भनाइलाई पुष्टि गर्न नसकेपछि बीबीसीले अरू केही महिला बन्दीहरूसँग कुरा गरेको थियो।
उनीहरूले पनि आफूहरूले यातना र यौन दुर्व्यवहार खेप्नु परेको बताए।
"उनीहरूले मलाई एक घण्टाभन्दा बढी उठेर तीन औँलाको सलामी दिन लगाए। एक जना गार्डले मेरो कपाल समाएर तर्साउन पनि खोजे," एक बन्दीले भनिन्।
म्यान्मारमा तीन औँलाको सलामीलाई विरोधको प्रतीक मानिन्छ।
स्वे पि थार केन्द्रमा राखिएकी अर्की एक महिलाले भनिन् "केही बन्दीहरूलाई कोठाबाट बाहिर लगे। फर्केर आउँदा कपडाका टाँकहरू खोलिएको र हराएको थियो।"
'फेक न्युज'

बीबीसीले सोय मेको बयानलाई म्यान्मारका सूचना उपमन्त्री मेजर जनरल ज मीन तुनसँग राख्यो।
उनले यातना दिएको आरोपलाई अस्वीकार गर्दै यस्ता समाचारलाई 'फेक न्युज' भने।
यस वर्षको सुरुमा सेनाले एक महिला बन्दीको तस्बिर प्रसारण गर्यो। उनको अनुहार चिन्न नसकिने गरी क्षतविक्षत थियो।
तस्बिर भाइरल भयो। उनी अझै पनि हातहतियार मुद्दामा जेलमा छिन्।
उनलाई लागेको चोट किन नलुकाएको भन्ने बीबीसीको जिज्ञासामा मेजर जनरल ज मीन तुनले भने, "पक्राउ गर्दा यस्तो हुनसक्छ। उनीहरू भाग्न खोज्छन्, हामीले समाउनुपर्छ।"
एकान्त बन्दी

दुर्व्यवहार गोप्य सोधपुछ केन्द्रहरूमा मात्रै हुँदैन।
उमेरले ५० को दशककी एक अभियानकर्मी सुश्री लिनले उनलाई यङ्गुनको इनसेन बन्दी गृहमा ४० दिनसम्म कसरी एकान्त बन्दी बनाएर राखियो भन्नेबारे बीबीसीलाई सुनाइन्।
उनका अनुसार हिरासतमा उनले लगाएको एकसरो कपडाबाहेक औषधि पनि उनलाई दिइएन। बन्दी भएर रहँदा उनी निकै कमजोर भइन्।
"म अँध्यारोमा सुतिरहँदा मर्छु कि भन्ने चिन्ताले सताइरहन्थ्यो," उनले भनिन्।
"कहिलेकाहीँ नजिकैको बन्दी गृहबाट मान्छेहरू चिच्याइरहेको र रोइरहेको सुन्दा मलाई कसलाई पिटिरहेका होलान् भन्ने लागिरहन्थ्यो।"
एक दिन केही महिला अधिकारीहरूको सँगै एक जना पुरुष अधिकारी पनि उनको बन्दी गृहमा प्रवेश गरेको उनी सम्झिन्छिन्।
"उनीहरू फर्कनै लाग्दा ती पुरुष अधिकारीले मेरो भिडियो खिचिराखेको देखेँ," उनले भनिन्। त्यसबारे गुनासो गरे पनि उनको गुनासोको कुनै सुनुवाइ भएन।
मानवअधिकारवादी अनुसन्धानकर्ता म्यानी मङले बीबीसीलाई बताए अनुसार जेलहरूमा १०० जना कैदीहरूको अट्ने ठाउँमा ५०० भन्दा बढीलाई कोचिएको हुन्छ। जहाँ बन्दीहरूले सुत्न पनि पालो पर्खनु पर्छ किनभने त्यहाँ सबै जना अटाउने ठाउँ हुँदैन।