तेजाब आक्रमण: 'नेपाल सन्दर्भ' मा उज्ज्वलविक्रम थापा जो समाजसेवा र राजनीतिमा सक्रिय छन्

अडिओ क्याप्शन सुरु हुँदैछ, तेजाब आक्रमणविरुद्ध उभिएका उज्ज्वलविक्रम थापा

एसिड अर्थात् तेजाब आक्रमणका पीडितको उपचार र उनीहरूलाई न्याय दिलाउन उज्ज्वलविक्रम थापा जहिल्यै पनि खटिएका भेटिन्छन्।

त्यस्तो हमलाविरुद्ध अभियान नै चलाएका उनले त्यसमा अमिताभ बच्चन लगायतका भारतीय अभिनेता र अभिनेत्रीहरूको पनि सद्भाव जुटाएका थिए।

खासगरी समाजिक सञ्जालको माध्यमबाट उनले पीडितको मनोबल बढाउन त्यो तरिका अपनाएको देखिन्छ।

कैयौँ पीडितका निम्ति आफैँले, स्वैच्छिक सहयोग र विभिन्न तहका सरकारबाट पीडितको उपचारको निम्ति आर्थिक जोहो गर्ने गरेका छन्।

रगतभन्दा 'एसिडको नाता बलियो'

त्यसक्रममा उनले निको भएपछि पीडितहरूसँग आफ्नो सम्बन्ध निकै प्रगाढ रहेको बताए।

बीबीसी नेपाली सेवाको साप्ताहिक नेपाल सन्दर्भका शरद केसीसँग कुराकानी गर्दै उनले भने, "मैले भन्ने गरेको छु - रगतकोभन्दा एसिडको नाता बलियो हुँदो रहेछ।"

करिब साढे छ वर्षदेखि आफू उक्त अभियानमा लागेको थापाको भनाइ छ।

सबैभन्दा पहिले सन् २०१२ मा अमिताभ बच्चनको टेलिभिजन कार्यक्रममा अतिथिको रूपमा उपस्थित तेजाब आक्रमणकी एक पीडितलाई देखेपछि उनको मनमा त्यसविरुद्ध धारणा जागृत भएको थियो।

एकजना बिरामीलाई भेट्न काठमण्डूस्थिति वीर अस्पताल गएका बेला जब संयोगले उनले पहिलो पटक तेजाब आक्रमणका पीडितलाई देखे। त्यसपछि आफू उक्त अभियानमै होमिएको उनी बताउँछन्।

जेनी खड्का

तस्बिर स्रोत, COURTESY: ARJUN SHAH

तस्बिरको क्याप्शन, जेनी खड्कालाई पूर्वपतिले एसिड आक्रमण गरेका थिए

आन्दोलनबिना नै कसरी उपलब्धि?

सरकारले हालसालै तेजाब आक्रमणविरुद्धको कानुन संशोधन गर्दै कडा सजायको व्यवस्था गरेको छ।

त्यसअघि उनले प्रधानमन्त्री लगायत सरकारका बिभिन्न निकायसमक्ष त्यसको माग गर्दै आफ्नो सुझाव दिएका थिए।

तर जुलुस, नाराबाजी वा धर्ना केही नगरेरै कसरी सम्भव भयो त?

उनी भन्छन्, "धेरै जसो आन्दोलन गर्दा हामीले सरकारलाई विपक्षी बनाउँछौँ, तर सरकार हाम्रो अभिभावक हो भन्ने ठानेर कहिल्यै पनि ढोका ढकढक्याउन छाडेनौँ।"

"दोस्रो कुरा हामीले कहिल्यै व्यक्तिको मुद्दा उठाएनौँ, अपराधविरुद्ध उठायौँ।"

राजनीतिमा 'कोमलता र सेवाभावको खाँचो'

सरकारका प्रवक्ताले तेजाब आक्रमणका सबै पीडितको उपचार सरकारले गर्ने भनि घोषणा गरेको क्षण आफ्नो निम्ति सबैभन्दा सुखद पल भएको थापाले सुनाए।

उनी राजनीतिमा पनि छन्, सरकारबाहिर रहेको सानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य हुन्।

थापाका विचारमा राजनीतिमा कोमलता, सहयोग र सेवाभाव नभएकाले देशले अहिलेको अवस्था बेहोरिरहेको हो।

उनी भन्छन्, "सरकारमा कोमलता हुनुपर्छ, सरकारमा सेवाभाव हुनुपर्छ, राजनीतिज्ञमा त झन् विशेष हुनुपर्छ। होइन भने क्रुर समाजको सिर्जना हुन्छ।"