'सुवर्णकाल' को वाचासहित दोस्रो 'ट्रम्प युग'

थुप्रै कार्यकारी आदेश जारी गर्दै ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, थुप्रै कार्यकारी आदेश जारी गर्दै ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेका छन्
  • Author, एन्थनी जर्कर
  • Role, उत्तर अमेरिका सम्वाददाता

मतदाताहरूमाझ कायम यथास्थितिप्रतिको गहिरो असन्तुष्टिको बलमा दोस्रो पटक राष्ट्रपति चुनिएका डोनल्ड ट्रम्पले आफ्नो उदघाटन भाषणमा 'सुनौलो युग'को वाचा गरेका छन्।

उनको भाषण वाचा एवं विरोधाभाषहरूले भरिएका छन् जसमा उनले दोस्रो कार्यकालमा सामना गर्नु पर्ने चुनौती एवं अवसरहरू पनि उल्लेख छन्।

सोमवार उनले विभिन्न समारोहहरूमा सम्बोधन गरे। दिउँसोबाट सम्बोधन थालेका उनले संसद् भवन, क्यापिटलमा स्वस्फूर्त भाषण दिए अनि 'स्पोर्ट्स एरिना' रङ्गशालामा आयोजित परेड र्‍याली तथा ह्वाइट हाउसबाट कार्यकारी आदेश जारी गर्दै गर्दा पनि भाषण गरे – लगभग अबेर साँझसम्मै।

ती सबै सम्बोधनहरूमा ट्रम्पले उनको विशिष्ट शैली, अनि विवाद तथा टकरावसँग नदच्कने उनको स्वभाव प्रदर्शन गरे – जसका कारण उनले उनका समर्थकहरूलाई उत्साहित तथा आलोचकहरूलाई क्रुद्ध बनाउँदै आएका छन्।

उद्घाटन भाषणका क्रममा ट्रम्पले आप्रवासन तथा अर्थतन्त्रमा बढ्ता जोड दिए। गत वर्षको निर्वाचनमा अमेरिकी मतदाताले यिनै दुई विषयलाई धेरै प्राथमिकता दिएको देखिएको थियो।

उनले 'सरकार-प्रवर्तित विविधता र समावेशीता सम्बन्धी कार्यक्रमहरू' को अन्त्य गर्ने अनि आधिकारिक अमेरिकी नीतिले 'महिला र पुरुष गरि केवल दुई लैङ्गिक पहिचानमात्र मान्ने' घोषणा गरे।

उक्त पछिल्लो उदगारलाई नजिकैको स्पोर्ट एरिनामा उपस्थित उनका समर्थकहरूको भिडले स्वागत गरेको थियो।

गत वर्ष उनले डेमोक्र्याटहरूभन्दा स्पष्ट विमति प्रकट गरेका यस्ता सांस्कृतिक मुद्दाहरू नै आगामी दिनमा उनका आफ्ना समर्थकहरूसँग जोडिने प्रमुख विषय बनिराख्ने सङ्केत यसबाट मिल्छ।

नौलो युगको चित्रण

आफूले वाचा गरेको नौलो युग कस्तो हुन्छ भनेर बताउनु अगाडि ट्रम्पले वर्तमान अमेरिकी राजनीतिक वातावरणको भने अन्धकारपूर्ण चित्रण गरे।

आफ्ना पूर्ववर्ती जो बाइडन तथा अन्य डेमोक्र्याटिक दलका नेताहरू चुपचाप बसिरहँदा ट्रम्पले सरकारले 'विश्वासको सङ्कट' बेहोरेको बताए। उनले अमेरिकी न्याय मन्त्रालयको 'दुष्टतापूर्वक, जथाभावी अनि पक्षपाती' किसिमले दुरुपयोग गरिएको बताए। सन् २०२० को निर्वाचन परिणामलाई चुनौती दिएकोमा उक्त निकायले ट्रम्पविरुद्ध अनुसन्धान तथा अभियोजनको प्रयास गरेको थियो।

उनले 'उग्र तथा भ्रष्ट संस्थापन'को निन्दा गर्दै तिनले अमेरिकी नागरिकहरूको शक्ति तथा सम्पत्ति अपहरण गरेको बताए। साथै उनले ती 'त्रासदीपूर्ण धोकाधडी' उल्ट्याउन जनमत प्राप्त गरेको दाबी गरे।

गत एक दशकयता उनले यस्तै लोकप्रियतावादी र कुलीन वर्ग विरोधी भाषण गर्दै आएका छन्। सन् २०१५ मा पहिलो पटक अमेरिकी राजनीतिको शिखरमा पुग्दै गर्दाको वखत भिन्नै भए पनि अहिले त ट्रम्प स्वयं पनि अरू जस्तै यही उदाउँदो संस्थापनको हिस्सा हुन्।

अनि, उनले त्यसो भनिरहँदा उनका पछाडि मञ्चमा चाहिँ संसारकै सबभन्दा धनी, सबभन्दा प्रभावशाली कर्पोरेट दुनियाका अगुवाहरू उपस्थित थिए।

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

विवादित टिप्पणी दोहोर्‍याए

शपथग्रहणका दिन ट्रम्पमाथि सबैको ध्यान रह्यो। उनका सहयोगीहरूले आप्रवासन, ऊर्जा, व्यापार, शिक्षा तथा अन्य विवादित सांस्कृतिक विषयहरूमा सयौँ कार्यकारी कारबाही थालिने दाबी गरेका छन्।

'मेक्सिकोको खाडी'लाई 'अमेरिकाको खाडी' भनी पुन:नामाङ्कन गर्ने अनि पानमा नहरको नियन्त्रण अमेरिकाले लिने अघिल्ला वाचाहरू पनि उनले दोहोर्‍याए।

उनले चीनले उक्त मुख्य जलमार्गको व्यवस्थापन गरिरहेको आधारहीन आरोप लगाए। अमेरिकाका पानीजहाजहरूले सो मार्ग प्रवेश गर्न निकै धेरै शुल्क तिरिरहेको पनि उनले बताए – सायद यसले उनले भविष्यमा पानमा सरकारसँग गर्न चाहेको लेनदेनको सङ्केत गर्छ।

"अमेरिकाले फेरि एक पटक आफूलाई फैलँदो राष्ट्र मान्नेछ," उनले अमेरिकी वैभव तथा 'क्षेत्र' विस्तारको वाचा गर्दै भने।

यी पछिल्ला टिप्पणीले अमेरिकाका सहयोगी राष्ट्रहरूका कान ठाडा हुन सक्छ। ट्रम्पले ग्रीनल्यान्ड लिने अनि क्यानडालाई देशको ५२औँ राज्य बनाउने भनेर गरेका टिप्पणीका कारण उनीहरू पहिले नै चिन्तित भइसकेका छन्।

निर्वाचन अभियानताका अनि आफ्ना सम्बोधनमा ट्रम्पले ठूल्ठूला वाचाहरू गरेका थिए। अब राष्ट्रपति भइसके पछि तिनको कार्यान्वयन बारे उनले प्रश्नहरूको सामना गर्ने छन्। आफूले भनेको 'सुनौलो युग'को खास अर्थ प्रदर्शन गर्न पनि उनमा दबाव पर्ने छ।

भाषण सकिएपछि र बाइडनलाई सेनाको मरिन हेलिकप्टरमा चढाएर ह्वाइट हाउसबाट बिदावारी गरे पछि उनले क्यापिटलमा आफ्ना समर्थकहरूलाई स्वस्फूर्त सम्बोधन गरे। जहाँ बारम्बार अखबारका हेडलाइन समाचार बन्ने विवादित टिप्पणी गर्ने स्वरूपमा ट्रम्प फेरि देखा परे।

उनले सन् २०२० को निर्वाचन धाँधलीपूर्ण भएको दोहोर्‍याए। सन् २०२१ को ज्यानुअरी ६ को क्यापिटल हमलामा पूर्व सभामुख न्यान्सी पेलोसीको अपराधपूर्ण जिम्मेदारी रहेको बताए। उनले सन् २०२४ मा आफ्नो निर्वाचन विजयको बखान गरे। साथै उद्घाटन भाषणमा 'एकता'को विषय पार्न आफू बल्लबल्ल राजी भएको पनि बताए।

आगामी चार वर्षमा ट्रम्प कसरी अघि बढ्लान भन्ने बारे ती अभिव्यक्तिले केही सङ्केत गर्छन्।

साँझ भएको हस्ताक्षर समारोहमा ट्रम्पले परम्परागत रूपमा (अघिल्ला सरकारका आदेश उल्ट्याउने) कार्यलाई नाटकीय बनाइदिए।

दिनको तेस्रो भाषणपछि आफ्नो 'इनगरल परेड' भएको स्पोर्ट एरिनाको मञ्चमा राखिएको सानो डेस्कमा पुगेर ट्रम्पले नयाँ सङ्घीय नियमन एवं भर्ना स्थगन, बाइडन प्रशासनका निर्देशनहरू उल्ट्याउने तथा प्यारिस जलवायु सम्झौताबाट अलग्गिने जस्ता कार्यकारी आदेशहरू जारी गरे।

"जो बाइडनले यस्तो गरेको तपाइँ कल्पना गर्न सक्नुहुन्छ");