दक्षिण कोरियाले यो वर्षदेखि 'होटल र रेस्टुराँ'मा पनि नेपाली कामदार लिने, जाने प्रक्रिया के?

- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
दक्षिण कोरियाले यसै वर्षदेखि नेपालबाट थप दुईवटा नयाँ क्षेत्रमा कामदार लैजाने भएको अधिकारीहरूले बताएका छन्।
कोरियाले लामो समयदेखि नेपालबाट उत्पादनमूलक र कृषि क्षेत्रमा कामदार लिँदै आएको छ।
केहीअघिदेखि पानीजहाज निर्माण क्षेत्रमा पनि कामदार लान थालेको उसले अब सेवा र वन क्षेत्रमा पनि कामदारहरू लिने भएको हो।
नेपालका लागि कोरियाली राजदूतले बुधवार सञ्चारकर्मीहरूसँग बोल्दै नयाँ क्षेत्रमा यसै वर्षभित्र कामदारहरू लान थालिने जानकारी दिएको विवरण पनि आएका छन्।
उनले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको अवसरमा गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्।

तस्बिर स्रोत, Getty Images
सेवा क्षेत्रमा जान कतिले दिए आवेदन?
नेपालस्थित ईपीएस कोरिया शाखाकी निर्देशक मैयाँ कँडेलका अनुसार नयाँ दुईवटा क्षेत्रमा कामदार लिने जानकारी उक्त देशले केहीअघि पठाएको थियो।
ती क्षेत्रका लागि कोरियाली भाषा परीक्षा पास गरेर बसेकाहरूलाई नै क्षेत्र परिवर्तन गरेर जान दिने उसले जनाएको थियो।
सोही अनुरूप ग्वार्कोस्थित ईपीएस कोरिया शाखाले तीन साताअघि एउटा सूचना प्रकाशित गर्दै इच्छुकहरूलाई क्षेत्र परिवर्तनका लागि निवेदन दिन भनेको थियो।
कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा भाषा परीक्षा उत्तीर्ण भएकाहरूलाई कोरियामा सेवा क्षेत्रमा जानका लागि आवेदन दिन भनिएको कँडेलले बताइन्।

उनका अनुसार झन्डै ३,५०० जनाले क्षेत्र परिवर्तनका लागि निवेदन दिएका छन्।*
उनले भनिन्, "अब उहाँहरूलाई नै सेवा क्षेत्रमा क्रमश: लाने भनिएको छ। यसमा भाषा परीक्षा पास गरेका र डिसेम्बर अन्तिमसम्म म्याद भएकाहरूको आवेदन लिएकाले यसै वर्षभित्र लैजाने भनिएको होला।"
ईपीएस भाषा परीक्षा उत्तीर्ण भएकाहरूलाई दक्षिण कोरियाले दुई वर्षसम्म रोस्टरमा राख्ने गरेको छ।
त्यो अवधिभित्र दक्षिण कोरियाली रोजगारदाताबाट छनोटमा नपरेकाहरू दक्षिण कोरिया जान पाउँदैनन्।
एक अनुमानित सङ्ख्याअनुसार करिब १५ हजार नेपालीहरू भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया जाने पर्खाइमा छन्।
कृषि क्षेत्रमा माग कम आएको कारण देखाउँदै दक्षिण कोरियाले कृषि र उत्पादनमूलक क्षेत्रमा कम माग पठाएपछि भाषा परीक्षा उत्तीर्ण गरेका करिब ११ हजार जना नेपाली युवाहरू दक्षिण कोरिया जाने पर्खाइमा थिए।
शाखाका अनुसार कोरियाली पक्षले त्यसमध्ये सेवा क्षेत्र परिवर्तनका लागि योग्य रहेका ९ हजार चार सय २८ जना नेपाली युवाहरूको सूची पठाएको थियो।
क्षेत्र परिवर्तनका लागि उनीहरूलाई वैशाख १८ गतेभित्र आवेदन दिइसक्न भनिएको थियो।

तस्बिर स्रोत, Reuters
सेवा क्षेत्रमा कस्ता काम गर्नुपर्छ?
कँडेलले दिएको जानकारी अनुसार सेवा क्षेत्रमा नेपाली कामदारहरूले विभिन्न खालका कामहरू गर्नुपर्ने हुन्छ।
त्यसमा विशेषगरी होटल, रेस्टुराँ र सफाइ कर्मचारीका रूपमा काम गर्नुपर्ने हुन सक्छ।
त्यस्तै विभिन्न व्यापारहरूमा पनि सेवाकर्मीका रूपमा नेपालीहरूले काम पाउन सक्छन्।
यद्यपि सयौँले इच्छा देखाएको उक्त क्षेत्रमा कोरियाले कति कामदारहरू लिन्छ भन्ने अझै यकिन भइसकेको छैन।
उनले भनिन्, "उहाँहरूले ईपीएसअन्तर्गत १६ वटै देशबाट त्यस्ता कामदार लिने हुन सक्छ त्यसैले हामीले कति पाउँछौँ भन्ने यकिन भइसकेको छैन।"
त्यस्तै वन क्षेत्रका हकमा भने "त्यस अन्तर्गत के के पर्छ" भन्ने नै थाहा नभएको उनको भनाइ छ।
"त्यो भनेको नर्सरी मात्र हो वा अन्य क्षेत्र पनि हो भन्ने खुलिसकेको छैन," उनले भनिन्।

तस्बिर स्रोत, EPSNEPAL
उत्पादन क्षेत्रका कामदार सङ्ख्या थप
कोरियाले यो वर्ष उत्पादनमूलक क्षेत्रमा नेपालबाट लैजाने कामदारको कोटा पनि वृद्धि गरेको छ।
यसअघि उक्त क्षेत्रमा झन्डै १६ हजार जना कामदार लैजाने कोरियाको तयारी थियो।
त्यसमा उसले थप १३.४ प्रतिशत कामदार लैजाने जानकारी दिएको कँडेलले बताइन्।
त्योसँगै अब नेपालबाट १८ हजार जना जति कामदार उक्त क्षेत्रमा जान पाउने भएका छन्।
दक्षिण कोरियाले सामान्य लेखपढ जानेका युवाहरूलाई पनि उत्पादनमूलक क्षेत्रमा लैजाने गरेको छ।
"यसबाट भाषा परीक्षा पास गरेर रोस्टरमा रहेकाहरूमध्ये थप केहीले रोजगारीको अवसर पाउनेछन्," उनले भनिन्।