भारतको जेल फोडिएको सबैभन्दा ठूलो घटनाका 'मुख्य योजनाकार'

अजय कानू

तस्बिर स्रोत, Swastik Pal

तस्बिरको क्याप्शन, कानू सामूहिक 'जेलब्रेक'को मुख्य योजनाकार भएको भारतीय प्रहरीको आरोप छ
  • Author, सौतिक विस्वास
  • Role, भारत संवाददाता

नोभेम्बर २००५ को एउटा शान्त आइतवारको साँझ घरै बसिरहेका बिहार राज्यका एक पत्रकारलाई कसैले आत्तिँदै फोन गर्‍यो।

"माओवादीहरूले जेलमा आक्रमण गरे। मान्छेहरू मारिइराखेका छन्। म चर्पीमा लुकेको छु," एक कैदीले फोनमा स्याँस्याँ गर्दै भने। उनको स्वर काँपिरहेको थियो। पार्श्वमा बन्दुक पड्किएको आवाज प्रतिध्वनित भइराखेको थियो।

तिनले जेहानाबाद जेलबाट फोन गरेका थिए। गरिबीसँग जुधिरहेको उक्त जिल्ला त्यतिखेर उग्रवामपन्थीहरूको गढ थियो।

भत्किँदै गरेको औपनिवेशिक युगको रातो इँटावाला उक्त जेल कैदीहरूले भरिभराउ थियो। एक एकड भूमिमा फैलिएको र १३ वटा ब्यारक्स भएको यसका कक्षहरूलाई आधिकारिक प्रतिवेदनमा "अँध्यारो, फोहोर र ओसिलो" भनिएको थियो। त्यस्तै २३० जनाजति कैदी राख्न बनाइएको जेलमा ८०० जनासम्म राखिएको थियो।

सन् १९६० को दशकको उत्तरार्धमा पश्चिम बङ्गालको नक्सलबारी क्षेत्रबाट सुरु भएको माओवादी विद्रोह बिहारसहित भारतको ठूलो हिस्सामा फैलिएको थियो। 'नक्सलिस्ट'समेत भनिने विद्रोहीहरू कम्युनिस्ट समाज निर्माणका निम्ति भनेर झन्डै ६० वर्षसम्म भारतीय राज्यसत्तासँग लडे। आन्दोलनका क्रममा कम्तीमा ४० हजार जनाको ज्यान गयो।

जेहानाबाद जेल बारुदको थुप्रोजस्तो थियो। त्यहाँ माओवादी कार्यकर्तासँगै उनीहरूका वर्गशत्रुहरूलाई पनि राखिएको थियो, जो माथिल्लो हिन्दू जातका सतर्कतासम्बन्धी काम गर्ने मानिसहरू थिए। उनीहरू सबै आआफूमाथि लागेका हिंसाका मुद्दाको प्रतिरक्षा गरिराखेका थिए। भारतका अन्य जेलमा जस्तै त्यहाँ पनि केही कैदीले सुरक्षाकर्मीलाई घुस खुवाएर मोबाइल फोनको व्यवस्था गरेका थिए।

"जेलभरि विद्रोहीहरू छन्, धेरै जना सजिलै बाहिर निस्किइरहेका छन्," ६५९ जना कैदीमध्ये एकले पत्रकार राजकुमार सिंहको कानमा फोनमार्फत् फुस्फुसाए।

जेहानाबाद जेल

तस्बिर स्रोत, Prashant Ravi

तस्बिरको क्याप्शन, 'जेलब्रेक'को घटनाको अर्को दिन जेल भत्काइयो

अनि १३ नोभेम्बर २००५ को रात कैयौँ विद्रोहीहरूसहित ३८९ जना कैदीहरू जेहानाबाद जेलबाट भागेको घटना भारतकै र सम्भवत: एशियाकै ठूलो 'जेलब्रेक'को घटना बन्न पुग्यो। त्यहाँ भएको गोली हानाहानमा कम्तीमा दुई जना मारिए भने अराजकता मच्चिँदा प्रहरीका राइफलहरू लुटिए।

अमेरिकी गृह मन्त्रालयको सन् २००५ को आतङ्कवादसम्बन्धी प्रतिवेदनमा विद्रोहीहरूले "माओवादीविरोधी ३० जना कैदीहरूलाई अपहरण समेत गरेको" उल्लेख छ।

त्यही जेलमा कैद थिए कानू

प्रहरीले घटनाको मुख्य योजनाकार अजय कानू भएको बतायो। उग्र विद्रोही नेता कानू त्यही जेलमा कैद थिए। प्रहरीका अनुसार जर्जर अवस्थामा रहेको जेलको सुरक्षा व्यवस्था यति कमजोर थियो कि कानूले फोनमार्फत् बाहिरका गैरकानुनी समूहलाई सन्देश पठाउने तथा सम्पर्क गर्नुका साथै भित्र आउन मद्दत गर्थे।

कानू भने उक्त आरोपलाई अस्वीकार गर्छन्।

प्रहरीको पोसाक पहिरिएका सयौँ विद्रोहीहरू जेलपछाडिको सुक्खा खोल्सो पार गर्दै बाँसको भर्‍याङमार्फत् अग्ला पर्खालमा चढे र घिस्रिँदै आफ्नो राइफलमार्फत् गोली चलाउन थाले।

भान्सामा अबेरसम्म खाना पाकिराखेकाले जेलका कक्षहरू खुलै थिए। विद्रोहीहरू हिँड्दै मुख्य द्वारसम्म पुगे र त्यसलाई खोलिदिए। सुरक्षाकर्मीहरू निरीह भएर हेरिरहे।

उक्त जेलबाट भागेकामध्ये ३० जनामात्रै दोषी ठहरिएका थिए, बाँकी भने मुद्दा किनारा लाग्ने प्रतीक्षामा थिए। उनीहरू खुरुखुरु मुख्य गेटबाटै निस्किए र अँध्यारोमा अलप भए। प्रत्यक्षदर्शीका अनुसार यो सबै घटना एक घण्टाभन्दा पनि कम समयमा भएको थियो।

उक्त सामूहिक 'जेलब्रेक' को घटनाले बिहारको धर्मराएको कानुनी व्यवस्था र भारतको सबैभन्दा गरिब क्षेत्रमा फैलिइराखेको माओवादी विद्रोहलाई उजागर गरिदियो। विद्रोहीहरूले औधी उपयुक्त समयमा उक्त योजना बनाएका थिए किनकि राज्यमा चुनाव भइराखेका कारण (जेलको) सुरक्षा व्यवस्था खुकुलो बनाइएको थियो।

'माओवादी आन्दोलनको हिस्सा'

घटनाको रात जेहानाबाद जेलनजिकै खटिएका प्रहरी

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, घटनाको रात जेहानाबाद जेलनजिकै खटिएका प्रहरी

स्थानीय पत्रकार राजकुमार सिंह उक्त रात स्पष्टसँग सम्झन्छन्। फोनमा कुरा गरिसकेपछि उनी मोटरसाइकल निकालेर कच्ची सडक हुँदै आफ्नो कार्यालयतर्फ हुइँकिए। टाढा कतैबाट गोली चलेको आवाज आइरहेको उनलाई सम्झना छ। विद्रोही आक्रमणकारीहरूले नजिकैको प्रहरी चौकीमा पनि हमला गर्ने कोसिस गरिराखेका थिए।

मूल सडकमा आउनासाथ उनले भयावह दृश्य देखे। प्रहरीको बर्दी लगाएका दर्जनौँ हतियारधारी महिला र पुरुषहरू बाटो छेकेर बस्नुका साथै मेगाफोनमा चिच्याइरहेका थिए।

"हामी माओवादी हौँ," उनीहरूले भने, "हामी केवल सरकारको विपक्षमा छौँ, जनताको होइन। यो जेल तोड्ने घटना पनि हाम्रो आन्दोलनको हिस्सा हो।"

उनीहरूले सडक किनारामा बम राखेका थिए। केहीले बम पड्काइरेहका कारण नजिकैका पसलहरूमा क्षति पुगिराखेको थियो। यसरी उनीहरूले सहरमा भय फैलाइरहेका थिए।

सिंहका अनुसार उनी त्यहाँबाट अघि बढे र आफ्नो चारतल्ले कार्यालय पुगे। त्यहाँ तिनलाई पुन: अघिकै कैदीको फोन आयो।

"सबै जना भागे। म के गरौँ?," कैदीले सोधे।

"सबै जना भागे भने तिमी पनि भाग्न सक्छौ," सिंहले भने।

त्यसपछि उनी रित्तो सडक हुँदै जेलतर्फ लागे। उनी पुग्दा जेलको गेट खुलै थियो। भान्छामा जताततै खीर छरिएको थियो। कैदी राख्ने स्थानका ढोकाहरू खुलै थिए। जेलर न प्रहरी, कोही देखिएका थिएनन्।

सिंहले एउटा कोठामा दुई घाइते प्रहरीलाई भुइँमा लडिरहेको अवस्थामा भेटे। उनले कैदमा रहेका 'रणवीर सेना' भनिने जमिनदारहरूको सतर्कता सेनाका नेता बडे शर्माको रक्तमुछेल शरीर भुइँमा लडिराखेको देखे। पछि प्रहरीले विद्रोहीहरूले जेलबाट निस्किँदै गर्दा उनलाई गोली हानेको बताएको थियो।

विद्रोहीहरूले छाडेर गएका रगत लतपतिएका हस्तलिखित पर्चाहरू केही भुइँमा छरिएका थिए भने केही भित्तामा टाँसिएका थिए।

"यस प्रतीकात्मक कारबाहीमार्फत् हामी राज्य र केन्द्र सरकारलाई चेतावनी दिन चाहन्छौँ, यदि क्रान्तिकारी र सङ्घर्षरत मानिसहरूलाई गिरफ्तार गरेर जेलमा राखियो भने मार्क्सवादी क्रान्तिकारी तरिकाले जेलबाट मुक्त गर्ने तरिका पनि हामीले जानेका छौँ, " एउटा पर्चामा भनिएको थियो।

विद्रोहीका पर्चा

तस्बिर स्रोत, Prashant Ravi

तस्बिरको क्याप्शन, विद्रोहीहरूले जेलबाट निस्कँदा कैयौँ पर्चाहरू छाडेर गएका थिए

ती कानू, यी कानू

घटनाको समयमा सञ्चारमाध्यमहरूले उनलाई बिहारको "सर्वाधिक खोजीको सूचीमा रहेका व्यक्ति"का रूपमा चित्रित गर्थे।

अधिकारीहरू आफ्ना साथीहरूमार्फत् एके–४७ हतियार हात पर्नासाथ यी "विद्रोही कमान्डर"ले कसरी स्थितिलाई नियन्त्रणमा लिएका थिए भन्ने स्मरण गर्छन्। उक्त नाटकीय मोडको चर्चा गर्दै विवरणहरूमा उल्लेख गरिएअनुसार उनले कुशलताका साथ हतियार समात्नुका साथै शर्मामाथि गोली चलाउनुअघि द्रुत गतिमा म्यागजीन फेरेका थिए।

घटनाको १५ महिनापछि बिहारको धनबादबाट कोलकाता जाँदै गर्दा उनी पक्राउ परे।

झन्डै दुई दशकपछि कानुविरुद्धका ४५ आपराधिक मुद्दामध्ये छ वटालाई छाडेर बाँकीमा उनलाई निर्दोष घोषित गरियो। तीमध्ये धेरैजसो मुद्दा 'जेलब्रेक' र शर्माको हत्यासँग सम्बन्धित थिए। तीमध्ये एउटा मुद्दामा उनले सात वर्षको जेल सजाय काटे।

डरलाग्दो छविका बाबजुद कानू अनेपेक्षित बोलक्कड निस्किए। नापतौल गरेर तर कडासँग आफ्ना कुरा राखेका कानूले त्यतिखेर चर्चा बटुलेको 'जेलब्रेक'को घटनामा आफ्नो भूमिकालाई घटाएर प्रस्तुत गरे।

केही महिनाअघि मैले 'जेलब्रेक' घटनाको मुख्य योजनाकार भनिएका ५७ वर्षिय विद्रोही नेता कानूलाई बिहारको अस्तव्यस्त राजधानी पटनास्थित एउटा अस्पतालमा भेटेँ।

अब उनको ध्यान फरक लडाइँतर्फ छ। राजनीतिमा आफ्नो भविष्य खोजिरहेका उनी "गरिब र पिछडिएकाहरूका निम्ति" लड्न चाहन्छन्।

कानूको बाल्यकाल रातदिन आफ्ना तल्लो जातका किसान पिताबाट रुस, चीन र इन्डोनेशियामा भएको कम्युनिस्ट विद्रोहको कहानी सुनेर बित्यो। आठ कक्षामा पढ्दै गर्दा पिताका कम्युनिस्ट साथीहरूले उनलाई विद्रोही राजनीतिमा आउन भने। कानूका अनुसार अवज्ञातर्फ उनको पाइला सानैबाट अघि बढ्यो, जब उनले एउटा फुटबल खेलमा एक जमिनदारका छोराविरुद्ध गोल गरेका कारण उच्च जातका हतियारधारी समूहले उनको घरमा आक्रमण गर्‍यो।

"म भित्रै थुनिएर बसेँ," उनले सम्झिए, "उनीहरू म र मेरो बहिनी खोज्दै आएका थिए। उनीहरूले घरलाई तहसनहस पारे। सबै कुरा बर्बाद गरिदिए। यसरी ती माथिल्ला जातकाले डरका माध्यमबाट हामीलाई दबाएर राख्थे।"

विगत

अजय कानू

तस्बिर स्रोत, Swastik Pal

तस्बिरको क्याप्शन, 'उच्च जातको शोषणविरुद्ध' आन्दोलन गर्दै कानू राजनीतिमा आउन चाहन्छन्

क्याम्पसमा राजनीतिशास्त्र अध्ययनरत रहँदा विरोधाभाषपूर्ण तवरले कानूले हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टी (भाजपा)को विद्यार्थी सङ्गठनको नेतृत्व गरे। उक्त समय भाजपा माओवादविरुद्व खनिएको थियो।

स्नातक सकिसकेपछि उनले एउटा विद्यालयको स्थापना गरे, तर पछि भवनका मालिकद्वारा बलात् हटाइए। त्यसपछि गाउँ फर्किएका कानूको स्थानीय जमिनदारसँग तनाव चुलियो। त्यस्तैमा ती शक्तिशाली व्यक्तिको हत्या भयो र उनीमाथि हत्याको आरोप लाग्यो। जम्मा २३ वर्षका कानू त्यसपछि लुकेर हिँड्न थाले।

"त्यसयता मेरो जीवनको अधिकांश समय म भागेको भाग्यै छु। मजदुर र किसानहरूलाई परिचालन गर्न मैले छिट्टै घर छाडेँ। त्यसपछि माओवादी विद्रोहमा सामेल हुँदै भूमिगत भएँ," उनले भने। उनी कट्टरपन्थी कम्युनिस्ट समूह कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्स–लेनिनिस्ट) मा सामेल भए।

"मेरो धर्म भनेकै मुक्ति थियो, गरिबको मुक्ति। उक्त लडाइँ उच्च जातकाले गरेको अत्याचारविरुद्ध उभिने लडाइँ थियो। मैले अन्याय र अत्याचार खेपिरहेकाहरूका निम्ति लडेँ।"

अगस्ट २०२२ मा डरलाग्दो छवि भएका यी नेताको ठेगानाबारे खबर गर्नेलाई तीस लाख रुपैँया (३६,००० डलर) पुरस्कार दिने घोषणा गरियो। कानू त्यतिखेर भूमिगत नेताहरूलाई भेट्दै नयाँ रणनीति बनाउँदै थिए।

उनी एकपटक पटनास्थित आफ्नो गन्तव्यमा पुग्दै थिए, एउटा व्यस्त चोकमा एउटा कारले उनलाई उछिन्यो। "पलभरमै सादा पोसाकमा भएका मानिसहरू ओर्लिए, बन्दुक निकाले र मलाई आत्मसमर्पण गर्न निर्देशन दिए। मैले प्रतिवाद गरिनँ। हार मानेँ।"

जेलभित्र निरन्तर विद्रोह

सन् २००४ मा जेहानाबाद जिल्ला माओवादीको गढ थियो

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सन् २००४ मा जेहानाबादमा गाउँलेहरू हतियार बोकेर हिँड्थे, त्यतिबेला उक्त जिल्ला माओवादीको गढ थियो

त्यसको तीन वर्षसम्म कानुलाई कहिले यो त कहिले त्यो जेल सारिराखियो किनकि उनी भाग्ने हुन् कि भनेर प्रहरी डराएको थियो।

"सबैभन्दा मुख्य कुरा उनको उल्लेख्य प्रतिष्ठा थियो," एक वरिष्ठ अधिकारीले मसँग भने। कानूका अनुसार प्रत्येक जेलमा उनले रासनको चोरी, फितलो स्वास्थ्य सेवा र घुसजस्ता भ्रष्टाचारको विरोध गर्न कैदीहरूको सङ्गठन बनाएका थिए। एउटा जेलमा त उनले तीनदिने भोक हड्तालको नेतृत्व समेत गरेका थिए। "झडपहरू हुन्थे," उनले भने, "तैपनि मैले जेलको अवस्थामा सुधार हुनुपर्ने माग गरिराखेँ।"

कानूले आवश्यकभन्दा अधिक भिडयुक्त भारतीय जेलहरूका वास्तविक तर अप्रिय तस्बिर प्रस्तुत गरे। उनका अनुसार जेहानाबादमा क्षमताभन्दा दोब्बर बन्दी राखिन्थ्यो।

"त्यहाँ सुत्ने ठाउँ पनि थिएन। मेरो पहिलो ब्यारक्समा चालीस जनाजति अट्ने ठाउँमा १८० जना कोचिएको थियो। स्वयंलाई जोगाउनका निम्ति हामीले नयाँ उपाय लगायौँ। हामीमध्ये पचास जना चार घण्टाका निम्ति सुत्दा अरूचाहिँ बस्ने, पालो कुर्ने वा अँध्यारोमै गफ गर्थ्यौँ। चार घण्टापछि सुतेकाहरू उठ्थे अनि उठेकाहरूको सुत्ने पालो आउँथ्यो। ती पर्खालभित्र हामीले त्यस्तो पीडा खेप्यौँ।"

सन् २००५ को जेल फोडिएको कुख्यात घटनामा कानू भागे।

"बन्दुक पड्किन सुरु हुँदा हामी खाना कुरिराखेका थियौँ। बम र बन्दुक पड्किन थालेपछि भद्रगोलको स्थिति बन्यो," उनले सम्झिए, "त्यसपछि माओवादीहरू 'भाग! भाग!' भनेर चिच्याउँदै भित्र छिरे। सबै जना अँध्यारोमा भागे। मचाहिँ मर्नलाई त्यहाँ बसिराख्नुपर्थ्यो");