इजरेल-हिज्बुल्लाहबीच युद्धविराम सुरु, अब के हुन्छ?

तस्बिर स्रोत, Reuters
इजरेल र हिज्बुल्लाहबीच स्थानीय समय अनुसार बुधवार बिहान चार बजेबाट लागु हुनेगरी युद्धविराम सुरु भएको छ। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले त्यसको घोषणा गरेका थिए जसलाई फ्रान्सले पनि समर्थन गरेको छ।
उक्त सम्झौता कार्यान्वयन हुने केही क्षणअघि समेत बेइरुतमा इजरेली हवाई हमलाहरू भएका विवरण सार्वजनिक भएका थिए। युद्धविराम सुरु हुनुभन्दा केही घण्टाअघि दुवै तर्फबाट सीमा पार हमलाहरू जारी रहेका थिए।
करिब एक वर्षदेखि हिज्बुल्लाहले गरेका रकेट हमलाको जबाफमा झन्डै दुई महिनाअघि इजरेली फौजले लेबननमा स्थल अतिक्रमण सुरु गरेका थिए।
लेबननमा हुने युद्धविरामले गाजामा जारी इजरेलको युद्धलाई प्रत्यक्ष प्रभाव पारिहाल्दैन।
युद्धविरामका सर्त अनुसार ६० दिनभित्र इजरेली फौज लेबननबाट फिर्ता हुनेछ भने हिज्बुल्लाहका लडाकुहरूलाई सोही अवधिभित्र देशको दक्षिणमा हजारौँको सङ्ख्यामा लेबननी सेनाले विस्थापित गर्नेछन्।
राष्ट्रपति बाइडनले सीमाका दुवैतर्फ विस्थापित बनेका हजारौँ मानिसहरू छिट्टै आफ्नो घर फर्कन सक्ने बताए।
इजरेल र लेबनन के भन्छन्?
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले युद्धविराम सम्झौताले आफ्नो सरकारलाई इरानबाट हुने जोखिममा केन्द्रीत हुन सघाउने बताएका छन्।
तर हिज्बुल्लाहले सम्झौता तोडेमा इजरेली सेनाले बलपूर्वक प्रतिक्रिया जनाउने चेतावनी उनले दिए।
लेबननका प्रधानमन्त्री नजीब मिकातीले यस युद्धविरामलाई पुनः स्थिरता कायम गर्नका लागि "आधारभूत कदम" बताएका छन्।

तस्बिर स्रोत, RE
हिज्बुल्लाहका ठाउँमा अब लेबननको राष्ट्रिय सेना र लेबननस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सुरक्षा फौज (यूनिफिल) खटिएर त्यहाँको रिक्तता पूरा गर्नेछन्। पाँच देशहरूको समिति र सम्झौता गराउने कामको अमेरिकाले निगरानी गर्नेछ।
“तर लेबननी सेना सधैँ हिज्बुल्लाहभन्दा निकै कमजोर छ र यूनिफिल हिज्बुल्लाहलाई इजरेलतर्फ रकेट प्रहार गर्न दिन बिफल भएको छ,” बीबीसीका सुरक्षा संवाददाता फ्र्यान्क गार्डनर भन्छन्।
यस युद्धविरामसँगै अब ध्यान गाजातर्फ मोडिएको छ जहाँ समेत यस विकासक्रमले छिटै युद्धविराम हुने बाटोतर्फ डोर्याउने प्यालेस्टिनीहरूको आशा छ।
अन्यले भने यसले हमासविरुद्धको हमलालाई बढाउन इजरेली सेनालाई सहज पारिदिएको र त्यसले थप सर्वसाधारणको हताहत बढाउने बताए।
त्रिपक्षीय संयन्त्रमा अमेरिका र फ्रान्स पनि

तस्बिर स्रोत, EPA
त्यस क्षेत्रमा सम्झौता कार्यान्वयन गराउनका लागि अमेरिका र फ्रान्स यसअघि कायम रहेको त्रिपक्षीय संयन्त्रमा संलग्न हुनेछन्। जसमा यसअघि लेबननी सेना, इजरेली सेना र राष्ट्रसङ्घीय शान्ति सेना थिए।
लेबननमा अमेरिकी सेना खटिने छैन। तर अमेरिका र फ्रान्सले लेबननी सेनालाई तालिम र सञ्चारमार्फत् सघाउनेछन्।
दक्षिण लेबननमा युद्धविराम कायम रहिरहने अवस्था बनाउन त्यहाँको आर्थिक पूर्वाधार विकासमा साथ दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरिएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले इजरेल र लेबननबीचको युद्धविराम सम्झौताले "हिंसा, विध्वंस र पीडालाई अन्त्य गर्ने" आशा व्यक्त गरेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।